आगामी चुनावको मतपत्र यसरी सरल बनाउने की ? विश्वास दीप तिगेला,

चुनाव हार्नुमा जनताको समर्थन भएन भनेर चित्त बुझाउने चलन छ तर धेरैलाई थाह छैन चुनाव के–के कुराले हारिन्छ भन्ने । आफ्नै उम्मेदवार छोरालाई आमाले भोट गल्ती ठाँउमा हालेको र आफ्नै कार्यकर्ताले पनि गलत चुनाव चिन्हमा भोट हाल्ने गरेको घट्ना अत्याधिक छन् । मतदान गर्दा किन यस्ता गल्तीहरु दोहोरि रहन्छन् ? धेरैको उत्तर राम्ररी नसिकाईएको र नदेखाईएको कारण हो भन्छन्, तर वास्तवमा त्यति मात्र हुँदै होइन ।

चुनावी प्रणालीहरु विभिन्न प्रकारका प्रचलनमा छन् । बहूमतीय प्रक्रिया, चरणगत छनौट प्रक्रिया, समानुपातिक प्रक्रिया आदि । जुनसुकै चुनावी प्रक्रिया भए पनि भोट हाल्ने मतपत्र स्पष्ट र अस्पष्ट दुबै प्रकारको बन्ने गरेको पाइन्छ । निष्पक्ष जनमत चाहनेले स्पष्ट र सरल मतपत्र बनाएको पाइन्छ । तर, धाँधली गर्ने र षड्यन्त्र गर्ने उद्देश्य भएको खण्डमा चाहि अस्पष्ट र कठिन प्रकारको मतपत्र बनाउने गरेको देशविदेशमा प्रयोग भएका मतपत्रको नमूनाहरुमा देख्न सकिन्छ ।

मतपत्र गणना गर्दा झण्डै ५ देखि १० प्रतिशत मतपत्र रद्द हुने गर्दछ त्यसको कारण पनि मतपत्र अस्पष्ट र अप्ठ्यारो हुनु हो । विशेषतः गाँउ र टोलटोलका मान्छे एकै हूल बनेर भोट गर्न मतदानकेन्द्र आउने गर्दछन्, त्यसैले निर्वाचन अधिकृत तथा खटिएका निर्वाचन कर्मचारीलाई यी ठाँउका यहि पार्टीका मान्छेहरु भोट गर्न आए भनेर स्पष्टै चिन्ने गर्दछन् । गाँउमा खेती किसान गर्ने साक्षर नभएका, सुकिला लुगा लगाएका मान्छे देख्ने बित्तिकै अप्ठयारो मान्ने, बन्दुक बोकेका प्रहरी र सेना देख्दैमा डराउने मतदाताहरुलाई भोटको छाप लगाउने टेबलमा मसी सुकेको मसिदानी राखिदिने र स्वस्तिक छाप विग्रिएको राखिदिने र अलि अत्याउन एकदुई कुरा सोधिखोजी गरिदिने हो भने धेरै भन्दा धेरैले मतदान बिगार्ने गरेको देखिन्छ । त्यसैले कुनै पनि पार्टीले जित्नको लागि निर्वाचनमा खटिएर जाने कर्मचारीहरुको भूमिका महत्वपूर्ण मात्र होइन निर्णायक पनि हुने गर्दछ ।

सामान्यतया नेपालको चुनावी मतपत्र सबैभन्दा अस्पष्ट र बुझ्न कठिन प्रकारको देखिन्छ जसले गर्दा धाँधली गर्न एकदमै सजिलो हुने गर्दछ । गाँउघरका सोझासिधालाई झुक्याउन सजिलो हुने प्रकारको छ । तपाईको आफ्नै भाइभतिज उम्मेद्वारलाई भोट गर्नको लागि गलत चिन्हमा भोट हाल्नु भनेर सिकाइएको घटनाहरु पनि ताजै छन् । गोठाला, खेताला गरिखानेलाई कुन पार्टीको कुन चिन्ह, कुन उम्मेदवार हो भन्ने बुझ्न र सम्झन गाह्रो हुन्छ ! अर्को रोचक प्रसङ्ग के पनि खुलेको छ भने उम्मेद्वारको नजिकका मान्छेहरुबाटै अत्याधिक गलत मतदान हुने गरेको केहीकेही घटनाहरु पाइएको छ । आफ्नै परिवारको मान्छेलाई भोट माग्नै पर्दैन त्यसैले उम्मेद्वार बाहिरबाहिरै खट्ने गरेको र चुनावी चटारोमा हुदा भेटघाट पनि नहुने र यसरी भोट हाल्नुस भनेर सिकाउन पनि नभ्याउने भएकाले धेरै मत गलत ठाँउमा पर्ने गरेको पाइन्छ । यस्ता खाले समस्याहरु धेरै भेटिएका छन् तर अशिक्षाले हो भनेर चित्त बुझाउने गरिएकोले समाधान खोज्ने काम भएको छैन ।

मतदानको बखत छलकपट र बेइमान गर्न सकिने कमिकम्जोरीहरुलाई पत्ता लगाएर समाधान तर्फ हामी किन नलाग्ने ? संयुक्त अधिराज्य (युके) को मतपत्रमा पार्टीको नाम, उम्मेदवारको फोटो र पार्टीको चुनाव चिन्ह भएको मतपत्रमा डटपेनले खाली कोठामा चिन्ह लगाउनु पर्ने प्रकारको हुन्छ । उक्त मतपत्रमा गल्ती मतदान हुने ९९ प्रतिशत सम्भावना हुँदैन किनकी त्यहाँ उम्मेद्वारको फोटो हुन्छ, पार्टीको नाम हुन्छ र पार्टीको चुनाव चिन्ह पनि हुन्छ । केही अन्य मुलुकहरुमा हातको औलाको छाप लगाउने गरेको पनि पाइन्छ । मतपत्रमा औंलाको छाप लगाएर मत दिनु सबैभन्दा उत्तम देखिन्छ किनकी मतपत्र गणनामा कुनै समस्या भएमा प्रविधिबाट उक्त मतपत्रलाई जाँच गर्न सकिन्छ । एकै औंलाले दिएको मत एकभन्दा बढी भएमा सत्यतथ्य पत्ता लगाउन सजिलो हुने देखिन्छ ।
सजिलो र स्पष्ट प्रकारको मतपत्र बनाउनको लागि प्राविधिक र आर्थिक हिसाबबाट पनि खासै फरक नपर्ने देखिन्छ । किनकी प्रत्येक क्षेत्रमा रहेका उम्मेद्वारहरुको आधारमा चुनाव चिन्ह भएको मतपत्र बनाइन्छ । त्यहि मतपत्रमा उम्मेद्वारको फोटो, उम्मेद्वारको नाम, पार्टीको नाम र पार्टीको चिन्ह उल्लेख गर्नु कुनै ठूलो कुरा हुँदै होइन । मतपत्रको लम्बाई केही बढ्न सक्ला त्यो समस्या होइन । जनताले सही किसिमले आफ्नो अमूल्य मत जाहेर गर्ने अधिकारको सुनिश्चितताका लागि पनि यस बारेमा सरोकारवाला पक्षले अब गम्भीर बन्न जरुरी छ ।

यदि हामीले मतपत्रको बैज्ञानिकीकरणमा ध्यान दिने हो भने मौलाएका केही विकृतिहरु पनि हटनेछन् । राम्रो सजिलो चुनाव चिन्ह रोज्ने र निर्वाचन मतपत्रको शुरुमा चुनाव चिन्ह रहोस् भनी होडबाजी गरेर निर्वाचन आयोगमा दर्ता गराउन जाने क्रम पनि रोकिने छ । निर्वाचन आयोगले चुनाव चिन्ह बोल्डगरि देखिने बनाउने र मधुरो बनाई देख्न गाह्रो बनाउने आयोगको नियोजित तिकडम पनि हटने छ ।

पटक–पटक चुनाव हारेपछि आफूलाई भोट नआउने सीमानाको गाउँबस्तीलाई निर्वाचन क्षेत्र पूर्ननिर्धारण कार्यक्रममा अर्को क्षेत्रमा गाँभिदिएर अर्को पटक चुनाव जित्ने परम्परा पनि पहँुचवाला नेताहरुमा छ । त्यतिमात्र होइन, पैसा बाँडेर भोट किन्ने गलत प्रचलन पनि छदैछ । यी यावत विकृति र बिसंगतिहरुलाई पूर्णरुपमा बन्द गर्न त नसकिएला तर न्यून गर्न भने अवश्य सकिन्छ ।

युकेको सन् ७ मे २०१५ को आम निर्वाचनमा युके इन्डिपेन्डेन पार्टीले ३८ लाख ८१ हजार मत प्राप्त गरयो तर एक सिट बाहेक जित्न सकेन । भर्खरै सन् ८ नोभेम्बर २०१६ मा सम्पन्न अमेरिकी निर्वाचनमा विजयी डोनल्ड ट्रम्पले भन्दा पराजयी हिलारी किल्न्टनले २५ लाख ६४ हजार बढि प्रत्येक्ष भोट पाइन् तर सिस्टममा ब्यवस्था गरिएको सिट प्रणालीमा ट्रम्मले जितेको कारण राष्ट्रपति बनेका छन् । यी दुई अभ्यासको आधारमा हामीले स्वीकारेको प्रत्यक्ष र समानुपातिक प्रणाली उत्कृष्ट छ । यसमा हामीले गौरव गर्नुपर्दछ र चुनावमा प्रयोग गरिने मतपत्रमा पनि सरलीकरण र वैज्ञानिकीकरण गरि अझ उत्कृष्ट बनाउने की ?

स्रोतः
ट्रम्प र हिलारी मत फरक Available: http://www.independent.co.uk/news/w… (Accessed on 21 Jan. 17)

प्रकाशक: नेपाली संघीय समाज प्रवास समितिहरु

कार्यकारी सम्पादक: देवेन्द्र खापुङ, संयोजकः अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेला,
समाचार पठाउने ठेगानाः nayaSamachar@outlook.com

Comments are closed

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in